![यज्ञराज अवस्थी यज्ञराज अवस्थी](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgmcnLPHuHK2yYMa4zFDKbgHP0X_Gdu4SnLoyVxm-5b0aUH6BIEbPwGKqahrO5GRqbP-hsJDxwTa3XaPHhy-n37M550yUUgVAyjLDc6XDwpGPiNtDkZPneKFpAM-YrAuyUFDoKAteWpEx0eVx-qPFXqIrZtZyhvIg4990UjyPy5nEU3pxaC5NBgTEZhelcz/w320-h157/BackgroundEraser_20240222_132418967.jpg)
भागेश्वरको पवित्र भूमिमा भित्री मधेसकै अग्रिणी शैक्षिक संस्थाका रुपमा रहेको श्री भागेश्वर माध्यमिक विद्यालय तत्कालीन पञ्चायतकालीन समय पछि स्थापना भएको हो । यसको स्थापनाका लागि तत्कालीन समयमा एक उज्ज्वल विचार दिने संस्थापक, यसलाई शैक्षिक संस्थाका रुपमा स्थापित गर्न अविछिन्न खट्ने आदरणीय अभिभावकहरु, विद्यालयलाई प्रर्याप्त मात्रामा जमिन दान स्वरुप दिने जमिनदाता र तत्कालीन समयमा भौतिक शैक्षिक सामग्रीको अभावमा पनि आफू जली विद्यालयलाई स्थापित गराउन अहम् भूमिका निर्वाह गर्नुहुने शिक्षक गरुज्यूहरु ,यसको व्यवस्थापनको पक्षमा भूमिका निर्वाह गर्नुहुने ज्ञातअज्ञात महान व्यक्तित्वहरुलाई यसै लेखबाट सधन्यवाद नमन गर्दछु । विधिवत रुपमा बि.सं.२०२९ सालमा स्थापना भएर निरन्तर शिक्षाको उज्यालो छर्दै आएको यस विद्यालयले विगतमा विभिन्न अभाव, लगाव र प्रभावको सामना गर्नुप¥यो । वावजुत पनि शैक्षिक गुणस्तर, लगन र निरन्तरतामा कमी हुन दिएनन् यहाँका आदरणीय अभिभावकले । व्यक्तिगत सम्पत्ति धितो राखेर भएपनि विद्यालयको त्राण बचाएका यस क्षेत्रका अभिभावकले विद्यालयलाई क्रमशः निम्न माध्यमिक र निम्नमाध्यमिक तहबाट स्थानीय अभिभावककै सक्रियतामा २०६५ सालदेखि कक्षा १० सम्मको पठनपाठन निरन्तर चलिरहेको यस विद्यालयबाट धेरै विद्यार्थीहरुले आफ्नो बाल्यजीवनको पठनपाठनको थलो बनाएको यथार्थ हामी सामु स्पस्ट छ ।
एक पूर्व विद्यार्थी, पूर्व कर्मचारी एवम् अभिभावककै नाताले भनौँ कि ? मेरो साइनो आगाध छ, यस विद्यालयप्रति । यथास्मृति बि.सं. २०५०÷०५१ सालबाट मेरो औपचारिक पढाइ यस विद्यालयमा सुरु भयो, तत्कालीन समयमा मलाई अक्षर आरम्भ गराउने सम्पूर्ण गरुज्यूहरुलाई नमन गर्दछु । एकदिन आदारणीय शिक्षक नन्दराम मिश्रा परीक्षाको कपी ल्याएर मेरो घरमा आएको र तपाईँको छोराले पूरै कापीमा दुई एकान दुई दुई एकान दुई मात्र लेखेर कापी भरेको भनेर मेरी आमालाई भनेको दिनदेखि मैले सचेत भएर पढ्नपर्ने ज्ञान पाएर, म झसङ्ग गरी झस्किएँको थिएँ ।
विद्यार्थी जीवन ताका एकदमै जिज्ञासु,चञ्चले, उछृङखल स्वभावको भए पनि सधैँ पठनपाठनमा गुरुहरु र अभिभावकहरुले सिकाएका अनुशासनको पाठले सक्षम विद्यार्थीकैरुपमा विद्यार्थीजीवनको कक्षा ८ सम्मको पठनपाठन २०६० सालसम्म यसै विद्यालयबाट गरेँ । त्यसपछि भागेश्वर मा.वि. कटालबाट एस्.एल्.सी. २०६२ साल, सिद्धनाथ उ.मा.वि. जोगबुडाबाट आई.एड् र त्रिवेणी बहुमुखी क्याम्पसबाट स्नातकको पठनपाठन सकेर स्नातकोत्तर सुदूरपश्चिमाञ्चल क्याम्पसबाट २०७२ सालमा सकेँ । दुई बर्ष जति निजी विद्यालय श्री जनकल्याण सेकेण्डरी स्कूल तेघरीमा शिक्षण गरेर २०७४ साल पुष १४ गते बाट यस विद्यालयमा लेखापाल पदमा रही निरन्तर २०७९ चैत्र मसान्तसम्म कर्मचारीका रुपमा काम गरेँ ।
विद्यालयको लेखापालको रुपमा काम गर्ने सिलसिलामा धेरै कुरा सिक्ने बुझ्ने मौका मिल्यो, आफैले पढेको विद्यालय, आफैलाई पढाएका शिक्षक तथा विद्यालय प्रशासनको प्रत्यक्ष सहकार्यमा शैक्षिक सुधारका लागि आफ्नो उर्जा लगन र क्षमतालाई विद्यालयका खाँतिर लगाउने मौका मिल्यो । सबैले गरेको सहयोग र हौसला अहिले पनि सम्झिरहेको छु । सधँै सत्मार्गमा लाग्न उत्साह गर्नुहुने दाई केशवराज अबस्थी तत्कालीन समयमा विद्यालय व्यवस्थापन समितिमा रहेर काम गर्न गराउन हौसला दिनुहुने शेरबहादुर बोहरा, आउँसे सहकारी (अमर बोगटी )कृष्ण बिष्ट, दानबहादुर ठगुन्नाको टीम र मलाई सधै हौसला दिइरहनुहुने सम्पूर्ण अग्रज अभिभावक ज्यू, शुभचिन्तकज्यू, शिक्षकवर्ग, विद्यार्थी, कर्मचारी, छिमेकी विद्यालयका सरहरु लगायत विद्यालयप्रति माया गर्नुहुने सहयोगी हातहरु सम्पूर्णलाई एकमुस्ट मनैदेखि साधुवाद दिन्छु ।
कार्यरत रहँदा मुख्यतया नगरपालिकाको चारकोठे भवन, विद्यालयको पुस्तकालय व्यवस्थापन, ICT व्यवस्थाप कार्यक्रम, विज्ञान प्रयोगशाला व्यवस्थापन, सामाजिक विकास मन्त्रालयबाट दुई कोठे भवन, राष्ट्रपति शैक्षिक सुधार अन्तर्गत चारकोठे भवन,ICT स्मार्ट बोर्ड सहितको व्यवस्थापन, प्रदेश सामाजिक विकास मन्त्रालयको चारकोठे भवन,शिक्षकको व्यवस्थापन, होस्टेल सञ्चालन र व्यवस्थापन, थप कक्षा सञ्चालन एवम् आवश्यकताअनुसारका काममा निर्देशन बमोजिवम खटिएर काम गर्ने अवसर प्राप्त भयो र कुशलताकासाथ सम्पन्न गरियो । कार्यरत रहँदा सबैको सद्भाव,माया र सहयोग पाएँ । म धन्यवाद दिन्छु सम्पूर्णलाई ।
कक्षा १२ सम्मको कक्षा सञ्चालन गर्ने तीब्र उत्कण्ठाका साथ विद्यालयको लेखा,शैक्षिक,भौतिक, प्रशासनिक क्षेत्रमा आफ्नो पदीय जिम्मेवारीमा रहेर अहोरात्र खटिएर काम गरेँ, । अब यस विद्यालयलाई तत्काल कक्षा १२ सम्म सञ्चालनका लागि पहल गर्न बुद्धिजीवी,समाजसेवी,पूर्व विद्यार्थी,शिक्षक,वडा सरकार ,नगर सरकार तथा सरोकारवाला सम्पूर्ण अभिभावकज्यूहरु तथा विद्यालयका शुभेच्छुक सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न पनि अनुरोध गर्दछु । आफू भौतिक रुममा विद्यालय भन्दा टाढा भए पनि विद्यालयका सकारात्मक गतिविधिमा मेरो सक्रिय भूमिका र सहयोग निरन्तर रहनेछ । वर्तमान प्रतिस्पर्धात्मक समयमा विद्यालयको हरेक क्षेत्रमा कुशल, सक्षम र सबल प्रशासन र व्यवस्थापन हुनु आवश्यक छ । भित्री मधेशकै गुणस्तरीय शैक्षिक संस्थाकारुपमा परिचय बनाउनु आजको आवश्कता रहेको मैले महशुस गरेको छु । गुणस्तरमा सुधार गर्नु नै एकमात्र प्रमुख उद्देश्य लिएर अगाडि बढ्नुपर्ने चुनौति हामी सामु रहेको छ । यस प्रक्रियामा सहयोगका साथ सक्रियरुपमा लाग्न सबैमा अनुरोध गर्दै सधैँ विद्यालयको प्रगतिका लागि लगन,त्याग, समर्पण, र अनुशासनको खाँचो रहेको मैले महशुस गरेको छु ।
अन्तमा मेरो अविराम यात्रामा सहयोग गर्ने,हौसला दिने,उर्जा थप्ने, साथ दिने आफन्तजन,अग्रज, शुभेच्छुक साथीभाई,गाउँबासी दाजुभाईहरु सम्पूर्ण सम्पूर्णप्रति सधैँ अनुग्रहित रहने बाचाका साथ विद्यालयको विकासमा लागिरहन सम्पूर्ण पक्षलाई हृदयदेखि अनुरोध गर्दै विद्यालयको उन्नति,प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
लेखक: यज्ञराज अवस्थी
No comments:
Post a Comment